FAQs Complain Problems

धनकुटा नगरपालिकाको आर्थिक बर्ष २०७१|७२ को बार्षिक समीक्षा गोष्ठी सम्पन्न

धनकुटा नगरपालिकाले गत आर्थिक बर्ष २०७१।७२ मा सम्पन्न बार्षिक योजना तथा कार्यक्रम तथा बजेट एवम नगरपालिका कार्यालयबाट सेवा प्रवाहको सन्दर्भमा बार्षिक समीक्षा गोष्ठी धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तीर्थप्रसाद धितालको अध्यक्षतामा २०७२ साल भदै ४ गतेका दिन नगरपालिका हलमा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानान्धरको प्रमुख आतित्थ्यता, स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालको विशेष अतित्थ्यता, अतिथिहरू श्रीमेहर गण सल्लेरीका गणपति रोजप्रताप राणा, प्रहरी उपरीक्षक विभुतराज पाण्डेय, राजनैतिकदलका नगरस्तरीय प्रमुख एवम प्रतिनिधीहरू, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय तथा संघसंस्थाका प्रमुख एवम प्रतिनिधिहरू, लक्षीत क्षेत्रका प्रतिनिधिहरू, वडा नागिरकमंच, धनकुटा स्थित विभिन्न संचारमाध्यमका प्रतिनिधिहरू, धनकुटा नगरपालिका कार्यालयका कर्मचारीहरू ७४ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रवन्धक श्री नुषराज श्रेष्ठले आ.ब. २०७१।७२ मा कुल रू १४७,५५५,००० बजेट बिनियोजन गरिएकोमा यर्थाथ निकास तथा आय रू १३७,४६६,००० र यथार्थ खर्च रू १२७,७७०,००० भएको, आन्तरिक आय रू ११,६४४,००० प्रस्तावित गरिएकोमा १३ प्रतिसतले बृद्दी भर्इ रू १३,१०३,००० भएको, गत आर्थिक बर्षमा सामाजिक आर्थिक पूर्वाधार विकास योजनाहरू ८, लक्षीत कार्यक्रमहरू १२८, सानातिना प्रबर्दानात्मक योजनाहरू ११७ र अन्य निकायबाट संचालित थप योजनाहरू २८  गरी कुल योजना २८१ सम्पन्न भएको संक्षीप्त विवरण प्रस्तुती गर्नु भयो ।

बार्षिक समीक्षा कार्यक्रममा प्रमुख अतिथि, अतिथि लगायत सहभागिहरू १३ जनाले विभिन्न प्रकारका जिज्ञासा तथा सुझावहरू राख्नु भयो । सुझाव प्रस्तुत गर्नेहरूमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विजय नारायण मानान्धर, राजनैतिकदलका प्रतिनिधिहरू नेपाली काँग्रेसका नगर सभापति पुरेन्द्रलाल श्रेष्ठ, नेकपा एमालेका नगर अध्यक्ष अर्जुन छारा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष यज्ञबहादुर कार्की, नेकपा माऒवादीका नगर प्रतिनिधि खगेन्द्र विष्ट, राष्ट्रिय जनमोर्चा नेपालका नगर प्रतिनिधि कोपिला शंकर, नेपाल पत्रकार महासंघका अध्यक्ष खगेन्द्र घिमिरे, धनकुटा खानेपानी तथा सरसफार्इ उपभोक्ता समितिका अध्यक्ष द्रोर्णप्रसाद गुरागार्इँ, पर्डेप नेपालका प्रतिनिधि किरण घिमिरे, तेश्रोधार साप्ताहिकका सम्पादक नारायण कुमार रार्इ, धनपा ११ वडानागरिकमञ्चका संयोजक राजकुमार रार्इ, धनपा ६ का पूर्व वडाध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, अयोजना कन्सल्टेण्ट प्रमोद नेउपानेले चार दर्जन बुँदाहरू सुझावको रूपमा राख्नु भयो ।

समीक्षा गोष्ठीमा प्राप्त जिज्ञासा तथा सुझावहरूको सन्दर्भमा थप स्पष्टता एवम अगामी दिनमा कार्यान्वयन प्रकृया थालनी गर्ने विषयमा कार्यकारी अधिकृत तीर्थप्रसाद धितालले मन्तव्य राख्नु भयो । प्रशासकीय अधिकृत डम्वर रोगुले कार्यक्रम सञ्चालन, वित्त अधिकृत उपेन्द्र खनाले स्वागत, सुझाव तथा जिज्ञासाहरूको टिपोट राजश्व अधिकृत राजु गुरागार्इँले गर्नु भयो । विहान ११.३० बजे देखि थालनी भएको कार्यक्रम दिनको २.५० बजे सम्पन्न भयो । कार्यक्रममा प्राप्त सुझावहरूलार्इ तीनवटा क्षेत्रमा विभाजन गरी सुचीकृत गरी जसमा नीतिगत सुधार तर्फ ९ वटा, पूर्वाधार विकासतर्फ ५ वटा र सशक्तिकरण तथा सचेतनामुलक कार्यक्रमतर्फ ८ वटा गरी २२ वटा सुझावहरूलार्इ निम्नानुसार सुचीकृत गरिएको थियो ।

बार्षिक समीक्षा गोषठीमा प्राप्त सुचीकृत सुझावहरू:

नीतिगत सुधारका लागि सुझावहरू

  • आर्थिक बर्षमा संचालन हुने विकास योजना तथा कार्यक्रमहरु समयमै संचालन गरी प्रभावकारी रूपमा योजना अनुगमन गरिनु पर्छ ।
  • नगर यातायात गुरुयोजना मापदण्ड अनुसार सडक योजनामा लगानीको लागि प्राथामिकता दिनु पर्दछ |
  • वडास्तरबाट छनोट भएका योजनाहरूलार्इ नै प्राथामिकता दिर्इ बार्षिक बजेटमा कृषि क्षेत्रको बिकास, लक्षीत क्षेत्रको विकास तथा विपन्न समुदायका लागि बजेट विनियेजनमा बृदी गरिनु पर्छ ।
  • आन्तरिक आय बृदि गर्न बृहत छलफल गरि  स्रोतमा परनिर्भरता (Resource Dependency )  घटाउँदै जानु पर्छ ।
  • घडेरी खार्ने कार्य जथाभावी हुँदा शहरी सडकहरू बिग्रीएकाले नियमनको व्यवस्था मिलाउनु पर्नेछ ।
  • विषयगत योजनाहरु विषयगत कार्यलय मार्फत संचालन गर्न समन्वय गरिनुपर्छ ,त्यसले न.पा को श्रोतमा समेत सरलता हुन्छ |
  • सडक संजाललाई ग्रामिण क्षेत्र संगको linkage हुने किसिमले विस्तार हुनेगरी लगानी गर्न ध्यान दिनु पर्दछ  ।
  • १ लाख भन्दा कमका योजनामा बजेट बिनियोजन नगर्ने।
  • के कारणले धनकुटाबाट बसाई सरी मानिस बाहिर गैरहेका छन् त्यसमा ध्यान दिई योजना निर्माण गर्नु पर्ने देखिन्छ ।

पूर्वाधार विकास सम्बन्धी कार्यगत सुझावहरू

  • नगरपालिकाको ढल व्यवस्थापनलाई ध्यान दिनु पर्दछ  ।
  • निसान भगवती मन्दिर तथा नगरका अन्य सार्वजनिकस्थलमा सार्वजनिक सौचालय बनाउनु पर्छ ।
  • नगरपालिकाको सबै क्षेत्रमा सोलार बती जडान गरिनु पर्छ ।
  • सङ्घीय राजधानी हुने सम्भावना भएकोले त्यसका पूर्वाधारमा मिल्ने गरि पार्किंग , हरियाली पार्क विस्तार ,मठमन्दिरको संरक्षण सम्बर्धन , खाली जग्गाको संरक्षण कार्य गर्नु पर्नेछ |
  • भीरगाउँ र बेलहारामा खानेपानीको दिगो ब्यबस्थानको लागि उचित प्रबन्ध गरिनु पर्दछ |

सशक्तिकरण तथा सचेतनामुलक कार्यक्रम सम्बन्धी सुझावहरू

  • वडा नागरिक मंचलाई प्रभाबकारी बनाउन तालिम,अभिमुखीकरण गराएर त्यसको भूमिकालाई प्रभाबकारी बनाउनु पर्दछ |
  • प्लास्टिक झोलाको नियमित अनुगमन प्रभाबकारी , खुल्ला दिसा मुक्त क्षेत्रको post ODF कार्यक्रममा ध्यान दिनु पर्नेछ ।
  • एकीकृत सम्पतिको क्षेत्रगत मुल्यांकन दर संसोधन र त्यसको करमा परेको प्रभावको जनस्तरमा प्रभाबकारी सूचना गर्नु पर्दछ
  • खानेपानी महसुललाई बैज्ञानिक बनार्इ विभिन्न सरोकारावालहरूसंग सहकार्य र समन्वय गरिनु पर्छ ।
  • फोहोर व्यवस्थानका लागि डस्टविनहरु बजार क्षेत्रमा सबै ठाउमा राखिनु पर्छ  ।
  • छाडा कुकुरको बिगबिगी देखिन्छ ,त्यसको ब्यबस्थापनमा ध्यान दिनु पर्दछ ।
  • निर्माण सामाग्री निकासी रोकिदा यसले सबै पूर्वाधार बिकासका योजना प्रभावित भएका छन् ,यसको निकासका लागि माथि बाटै पहल गरिनु पर्दछ  ।
  • सरकारी अस्पतालको प्रयोग लाई प्रभाबकारी बनाउन सबै लाग्नु पर्दछ  ।